भदौदेखि ३ महिनासम्म माओवादीले ‘जनतासँग पार्टी अभियान’ चलाउने
काठमाडौं, 2 अगस्ट 2023
नेकपा माओवादी केन्द्रले आउँदो भदौ महिनादेखि ३ महिनासम्म संगठन सुदृढिकरण अभियान चलाउने भएको छ ।
बुधबार सुरु पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै भदौ, असोज र कात्तिक महिनामा ‘जनतासँग पार्टी अभियान’ चलाउने जानकारी गराए ।
यो अभियानमा सबै समिति डिजिटल बनाउने, वार्षिक कार्यतालिका बनाउने, मंसिरमा विधान सम्मेलन गर्ने, सचिवहरुले प्रदेशको जिम्मेवारी लिने र सबै केन्द्रीय सदस्य वडा तहमा पठाउने पनि माओवादीको योजना छ ।
यो समयमा विचार मिल्नेसँग एकता गर्ने, एकतामा संख्या भन्दा विचारमा जोड दिने, कार्यकर्ता सामूहिक कोष बनाउने पनि अध्यक्ष प्रचण्डले बताएका छन् । उनले माओवादी केन्द्रले जितेका १२२ वटा स्थानीय तहलाई नमुना बनाउने पनि योजना सुनाए ।
प्रचण्डले माओवादी पार्टीजस्तो नभएको टिप्पणी गरेका छन् । बैठकमा उनले यो बैठकलाई पार्टी पुनर्निर्माणको सुरुवात बनाउनुपर्ने धारणा राखेका छन् ।
‘हाम्रो पार्टी पार्टी जस्तो भइरहेको छैन, पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी यो बैठकलाई बनाउनुपर्छ’ उनले भने ।
अहिले सरकारका कारण जनतामा आशा पलाएको दाबी गर्दै प्रचण्डले यो बेला संगठन विस्तार गर्नुपर्ने पनि बताए ।
अहिलेको गठबन्धनको सरकार सुशासनको क्षेत्रमा कटिवद्ध भएर लागेको भन्दै प्रचण्डले यसलाई अझ ब्यापक बनाउनुपर्ने बताए ।
यो समाचार पनि पढनुहोस्…
- टी-२० विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा
- राप्रपाले केन्द्रीय कार्यालय २१ दिनभित्र खाली गर्ने