काठमाण्डौ, 17 मार्च 2020
सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण एकजनामा पनि नदेखिएको बताइरहेका बेला वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले भने संकास्पद व्यक्तिमाथि कुनैपनि परीक्षण नभएको आरोप लगाउनुभएको छ।……… कोरोना भाइरसका विषयमा मंगलबार काठमाडौंमा आयोजित एक साक्षत्कारमा बोल्दै डा. दिक्षितले भाइरस परिक्षण नै नगरी सरकारले संक्रमण देखिएको छैन भन्दै जनतालाई धोका दिएको आरोप लगाउनुभएको हो। उहाँले सरकारसँग कोरोना भाइरसको परीक्षण गर्ने किट नै नभएको दावी समेत गर्नुभयो। उहाँले सरकारसँग भएका केही किटहरु भिआइपिको परीक्षणका लागि मात्र प्रयोग गरिएको आरोप समेत लगाउनुभयो।
एकदिन अघि मात्रै इटलीबाट प्रशिक्षणका लागि आएका एकजना व्यक्तिलाई ज्वरो र खोकी लागेको भएपनि सरकारले परीक्षण नगरिदिएको उहाँले बताउनुभयो। उहाँले आफ्नो अस्पतालमा अझैपनि ३ जना संकास्पद बिरामी रहेको तर टेकु अस्पतालले परिक्षण नगरिदिएको आरोप समेत लगाउनुभयो।
साक्षत्कारमा प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले भने कोरोना भाइरसको सन्त्रास देखाएर कालोबजारी गर्नेहरुलाई कारबाही गरिरहेको बताउनुभएको छ।
कालोबजारी गर्ने व्यापारी, व्यवसायी, उत्पादक कसैलाई पनि छुट नहुने भन्दै गलत गर्नेमाथि कारबाही हुनेमा विस्वस्त हुन पोखरेलले आग्रह गर्नुभयो।









































