नयाँ दिल्ली 28 फरवरी 2020/ रूबेन गुरूङ
भारतीय गोर्खा परिषद (भागोप) दिल्लीले साहित्य अकादमी पुरस्कार विजेता साहित्यकार सलोन कार्थकलाई अभिनन्दन गरेको छ। भागोप दिल्लीले बिहिबार नयाँ दिल्लीस्थित मोतीलाल नेहरू महाविद्यालय परिसरमा एक समारोहको आयोजना गरि साहित्यकार सलोन कार्थकलाई अभिनन्दन गरेको हो। श्रीमती एडलिना छेत्रीले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता भागोपका राष्ट्रिय कार्यकारी अध्यक्ष डा. मुनीष तामाङले गर्नुभएको थियो भने राष्ट्रिय अध्यक्ष सुखमन मोक्तान विशेष अतिथिको रूपमा उपस्थित रहनुभएको थियो।
भागोपका दिल्ली अध्यक्ष पप्पु प्रधानले साहित्यकार सलोन कार्थकलाई स्मृति चिह्न प्रदान गर्नुभयो। त्यसैगरी गोर्खा मदर्श वेलफेयर एशोसियशन सोसाइटीकी संस्थापक अध्यक्षा प्याट्रिशिया निकोलसले पनि उहाँलाई खादा ओढाएर सम्मान गरेको थियो। कार्यक्रमको सह आयोजक समितिको रूपमा ट्रयाम्फेन्ट मिनिस्ट्रीबाट एम. एल. तामाङले पनि साहित्यकार सलोन कार्थकलाई खादा तथा स्मृति चिन्हले सम्मानित गर्नुभयो।
कार्यक्रममा बोल्दै धर्मराज थापाले साहित्यकार कार्थकको रचना धेरै समयदेखि पढ्दै आएको र उहाँ यस वर्षको अकादमी पुरस्कारले सम्मानित हुँदा गौरवान्वित भएको बताउनुभयो। त्यसैगरी सुखमन मोक्तानले साहित्यकार कार्थकका रचनाहरू झण्डै 50 वर्षदेखि पढ्दै आएको बताउनुभयो। मुनीष तामाङले सलोन कार्थकका लेख, रचना तथा ईसाई समुदायमाथि उहाँको भूमिका बारे अवगत गराउनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यकार कार्थकले समारोह आयोजक समितिलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले पुरस्कार केवल आफुले मात्र नजितेर समग्र नेपालीभाषीहरूले जितेको बताउनुभयो। अन्त्यमा उहाँले पुरस्कार पाउनुभएको कृति नियात्रा संकलन ‘विश्व एउटा पल्लो गाउँ’ बाट १९७५ को दिल्ली डायरी वाचन गर्नुभएको थियो।









































