25 सितम्बर 2021
संयुक्त राष्ट्रसंघीय महासभामा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि मुस्लिमविरुद्ध आतंक मच्चाउन नछाडेको आरोप लगाएपछि भारतले पनि त्यसको कडा जवाफ दियो। प्रधानमन्त्री इमरान खानले मुस्लिमविरुद्ध आतंक मच्चाएको भनेपछि भारतीय कुटनीतिज्ञ एवं भारतीय मिसनकी प्रथम सचिव स्नेहा दुबेले खानलाई अलकायदाको जयजयकार भनेर कडा जवाफ फर्काकएकी थिइन् । महासभामा पाकिस्तानी प्रधानमन्त्री खानले उप्काएको प्रसंगले दुई देशबीचमा चर्काचर्की नै भएको थियो । भारतको खेदो खन्दै आएका प्रधानमन्त्री खानले महासभाको बैठकमा भारतले आफ्नो देशमा मुस्लिममुक्त अभियान चलाएको आरोप लगाए । मोदीकै कारण मुस्लिमको भूमि कश्मिर अस्तित्व नामेट भएको पनि आरोप प्रधानमन्त्री खानले लगाए । भारतीय कुटनीतिज्ञ एवं भारतीय मिसनकी प्रथम सचिव दुबेले खानको आरोप सुनेपछि कडा रुपमा प्रस्तुत भइन् । पाकिस्तान अलकायदाका तत्कालीन अगुवाकर्ता ओसामा बिन लादेनलाई सुरक्षा र जयजयकार गरेको उनले आरोप लगाएकी थिइन् । पाकिस्तानकै कारण अलकायदाले आगो लगाउने गरेको पनि उनले जनाइकी थिइन् । उनका अनुसार पाकिस्तानले आफ्नो आँगनमा आतंकवादी हुर्काउने गर्छ । दुबेले भारत पाकिस्तान जस्तो मुलुक नभएको पनि जिकिर गरिन् । उनका अनुसार भारत एउटा बहुलवादी लोकतन्त्र हो जहाँका अल्पसंख्यक देशको उपल्लो तहसम्म पुगेका छन् ।









































