दिल्ली, 29 जून 2022
गत फेब्रुअरी २२ मा भएको सम्झौताअनुसार भारतले नेपाल लाई १५ हजार टन युरिया दिन लागेको छ। पहिलो लटमा १५ हजार टन युरिया मल नेपालले पाउने भएको छ । भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसीएफ) ले कृषि सामग्री संस्थानको वीरगन्जस्थित गोदामसम्म उक्त मात्रामा युरिया पुर्याइदिने सहमति भएको छ ।नेपालले भारत सरकारसँग बर्सेनि १ लाख ५० हजार टन युरिया मल किन्ने सम्झौता गरेको छ । भारतले नेपालका लागि टेन्डर प्रक्रियाबाट किनेर आपूर्ति गर्दा धेरै समय लाग्ने भएकाले ‘फास्ट ट्र्याक’ मा मल उपलब्ध गराइदिन नेपालले आग्रह गर्दै आएको थियो । त्यही आग्रहअनुसार भारत सरकार तत्काललाई आफ्नै ‘स्टक’ मलको आपूर्ति गरिदिन सहमत भएको हो । मलको आपूर्ति प्रक्रियाका लागि कृषि सामग्री संस्थानका महाप्रबन्धक राजेन्द्रबहादुर कार्की एक सातादेखि भारतमा छन् । भारतको आरसीएफका अधिकारीहरूसँग छलफलका लागि मुम्बई पुगेका कार्कीले पहिलो खेपको आपूर्तिको सुनिश्चितता भएको जानकारी दिए ।
‘उडिसाको धामरा पोर्टबाट पहिलो खेपको आपूर्ति हुने भएको छ,’ उनले भने, ‘संस्थानको बोरा र लोगोमा मलको प्याकिङदेखि वीरगन्जसम्मको ढुवानीको काम भारत पक्षले नै गर्नेछ ।’ एलसी खोलेर पैसा भुक्तानीको प्रक्रिया थालेलगत्तै मल आपूर्तिको काम सुरु हुने कार्कीले जानकारी दिए । १० दिनभित्र मल ढुवानी सुरु हुने उनको भनाइ छ ।
१५ हजार टन भनेको ३ लाख बोरा हुन्छ । त्यसको ढुवानीका लागि ४२ वटा डब्बा भएको ६ वटा मालवाहक ट्रेन आवश्यक पर्नेछ । आरसीएफले मलको मूल्यमै ढुवानी भाडासमेत जोड्नेछ । वीरगन्जको सुक्खा बन्दरगाहसम्म मालवाहक ट्रेनबाट मलको ढुवानी हुनेछ । भारतले बाहिरबाट किनेकै मूल्यमा नेपालले मल पाउनेछ । रासायनिक मलको भाउ अन्तर्राष्ट्रिय बजारमा दिनदिनै परिवर्तन हुने भएकाले मूल्यसूची भने तय भइसकेको छैन ।









































