भारतद्वारा १६ करोडको राहत सामग्री हस्तान्तरण
काठमान्डौ,6 नोभेम्बर 2023
भारतले नेपालको पश्चिम जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई १६ करोड (१० कराेड भारू) रुपियाँ बराबरको आपत्कालीन राहत सामग्रीको पहिलो खेप हस्तान्तरण गरेको छ ।
भारतीय वायुसेनाको सी–१३० नामक विशेष विमान ११ टनभन्दा बढी आपत्कालीन राहत सामग्री लिएर आएको हो । उक्त सामग्री भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरे ।
आपत्कालीन राहत सामग्रीमा भूकम्प प्रभावितका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लिपिङ ब्याग, पोर्टेबल भेन्टिलेटरलगायत चिकित्सा उपकरण र अत्यावश्यक औषधि रहेको दूतावासले जनाएको छ ।
भारत आफ्नो छिमेकी र बाहिरका संकट परिस्थितिहरूमा पहिलो प्रतिक्रियाकर्ताको रूपमा जारी राख्ने दूतावासले जनाएको छ । भारतले भूकम्पपछिको आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई एक अर्ब अमेरिकी डलर सहयोग गरेको थियो भने गोरखा र नुवाकोट जिल्लामा ५० हजार घरको पुनर्निर्माण समेत गरेको थियो ।
आइतबार अपराह्न जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि राहत सामग्री बोकेर भारतीय वायुसेनाको विमान नेपालगन्ज विमानस्थलमा आइपुगेको हो ।









































