काठमाडौं, 15 जुलाई 2022
नेपालमा प्रतिबन्धित बारुदजन्य विस्फोटक पदार्थ (पटाका) सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरीले बारुदजन्य विस्फोटक पदार्थ (पटाका) बरामद गरी नष्ट गरेको हो। भारतबाट अवैध रुपमा लुकाइछिपाई नेपाल भित्राइएको करिब १ लाख ३५ हजार मुल्य बराबरको पटाका सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट पृथ्वीनगरबाट खटिएको टोलीले तिरुपति चिया उद्योगको पश्चिम चिया बगानबाट बरामद गरेको थियो।
बरामद गरिएको पटाकाहरू किङ कोब्रा इलेक्ट्रिक क्रेकर बम् एक हजार प्याके, राउन्ड क्रकेर बम् ५० प्याकेट, रकेट बम् ५० प्याकेट र ग्राउन्ड चक्कर ब्रान्डको बम् ५० प्याकेट रहेको बिओपी पृथ्वीनगरका इन्स्पेक्टर मानबहादुर कटुवालले जानकारी दिए। बरामद गरिएको पटाकाहरूलाई शुक्रबार बिहान जनप्रतिनिधि, राजनीति दलका प्रतिनिधि, नेपाल प्रहरी र पत्रकारको रोहबरमा नष्ट गरिएको उनले बताए।
विशेषगरी दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी भित्राइने बारुदजन्य पटाकाहरू असार महिनामा भित्रिने थालेपछि सशस्त्र प्रहरीले त्यसतर्फ निगरानी बढाएको हो।









































