काठमाडौं, 4 अगस्त 2022
बुधबार भारतको मुम्बई आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका सुनचाँदी व्यवसायी सन्तोष लामिछाने पक्राउ परेका छन्। उनी भारतको पञ्जावमा भएको एउटा सुन चोरीको घटनामा जोडिएको प्रहरीले जनाएको छ। सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष समेत रहेका लामिछानेलाई बिहीबार कैलाली ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले लामिछानेसँगै भारतबाट सुन चोरी र ओसारपसारको कार्यमा संलग्न रहेको आरोपमा अन्य तीन जनालाई पनि पक्राउ गरिएको जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताउँदै जोशीले तत्काल विस्तृत विवरण दिन नसकिने बताए । भारतीय दूतावासमार्फत आएको उजुरीअनुसार एक करोड रुपैयाँ भन्दा धेरैको सुन चोरी प्रकरणको अनुसन्धानका क्रममा लामिछानेसहितका अन्य व्यक्तिलाई पक्राउ गरिएको डीएसपी जोशी बताउँछन् । प्रहरीकाअनुसार कैलाली प्रहरी विगत डेढ महिनादेखि यो चोरी प्रकरणको अनुसन्धानमा सक्रिय थियो । विशेष अनुसन्धान ब्युरोको टोली पनि केही समय अघि कैलाली पुगेर फर्किएको थियो । प्रहरीले केही गरगहना र नगद समेत बरामद गरेको छ । तर अनुसन्धान प्रभावित हुने भन्दै विवरण सार्वजनिक गर्न अस्वीकार गरिएको छ ।









































