बुटवल, 26 जुलाई 2021
कमाउन र घुम्न भन्दै भारत पुगेका बाँके र बैतडीका तीन बालक र एक बालिकालाई उद्धार गरि आफन्तको जिम्मा लगाएको छ। ‘प्रवासी मित्र मञ्च नेपाल-भारत’ र मानव कल्याण मित्र मञ्च नेपालले भारतबाट उद्वार गरी ल्याएका उनीलाई जिल्ला प्रशासन कार्यालय रूपन्देहीको रोहवरमा आइतबार आफन्तको जिम्मा लगाएको हो। प्रवासी नेपाली मित्र मञ्च दिल्लीका महासचिव रघुनाथ पाण्डेले कमाउन भन्दै भारत पुगेका उनिहरुबारे थाहा पाएपछि उद्धार गरेर नेपाल ल्याइएको जानकारी दिए। उद्धार गरि ल्याईएका तीन जनालाई वडाध्यक्षमार्फत् आफन्तको जिम्मा लगाइएको छ भने एक जनालाई केही दिनका लागि कोटिहवास्थित बालगृह राखिएको छ। उद्धार गरिएका बालिबालिकामा बाँकेको कोहलपुरका ९ वर्षीय रोशन बढई, ७ वर्षीय बिशाल बढई र ५ वर्षीया पूजा बढई छन्। त्यस्तै बैतडीका १५ वर्षीय प्रकाश सिंह महरालाई पनि उद्धार गरिएको छ। रूपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अलपत्र बालबालिकाको उद्धार गरेर नेपाल ल्याएर मित्र मञ्चले राम्रो काम गरेको बताए। उद्धार गरिएका बालबालिकाले आफूहरू ६ महिनाअघि कोहलपुर नाकाबाट भारत पुगेको बताएका छन्। भारत घुम्न पनि हुने र कमाउन पनि सकिने भएकोले घरदेखि हिँडेको उनीहरूले बताएका थिए। तर उनीहरूलाई भारत उत्तर प्रदेशको बरेलीबाट नै उद्वार गरिएको थियो। मानव कल्याण मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद आचार्यले विगतदेखि परिवारको बेवास्ता, गरिबी र रोजगारीका लोभले ८/९ वर्षका बालबालिकासमेत भारतमा पुगेर जोखिमपूर्ण काम गर्न बाध्य भएको बताउँछन्। यी बालबालिकालाई पनि घरदेखि भागेर भारत पुगेको आशंकामा सोधपुछ गरि उद्धार गरिएको थियो।









































