नयाँ दिल्ली, 4 जनवरी 2021
भारतमा कोरोना महामारीसँगै बर्ड फ्लू पनि त्रास फैलाईरहेको छ । राजस्थान र मध्य प्रदेशपछि झारखण्ड र हिमाचल प्रदेशमा बर्ड फ्लूको भाईरसका कारण अलर्ट जारी गरिएको छ । एभीयन इन्फ्लूएन्जा भाईरस H5N1 कारण हुने यो रोगलाई बर्ड फ्लूका नामले चिनिन्छ । यस रोगका कारण हाँस कुखुरासहित चराचुरंगीहरु त मर्छन नै मानिसहरुलाई पनि खतरनाक हुने गर्दछ । भारतमा बर्ड फ्लूको त्रासका कारण केन्द्र र राज्य सरकारहरुले पनि अलर्ट जारी गरेका छन । राजस्थानको झालावाडमा 1 सय, कोटामा 47, बाँरामा 72, पालीमा 19 र जयपुरमा 10 काग सहित राज्यभरि 245 कागहरु बर्ड फ्लूका कारण मरेका छन । कागहरु यसरी मरेपछि पशुपालन विभागले क्षेत्रलाई सैनिटाइज गरि मृत कागहरुलाई खाल्डो खनेर जलाएका छन । त्यसैगरि हिमाचल प्रदेशमा प्रसिद्ध पोङ डैम सेंक्चुरीमा पनि 1700 प्रवासी पंक्षीहरु शंकास्पद मृत भेटिएका छन । अहिले पंक्षीहरु मर्ने कारणको जाँच भइरहेको भएपनि बर्ड फ्लूका कारण मरेको हुन सक्ने अधिकारीहरुले अनुमान गरेका छन । त्यही अर्को तर्फ राजस्थान र मध्य प्रदेश जस्ता राज्यबाट बर्ड फ्लू आउन सक्ने भन्दै झारखण्डले राज्यका कुनै पनि जिल्लामा पंक्षी अप्राकृतिक रुपमा मरे भने पशुपालन विभागलाई सूचना दिन भन्दै अलर्ट जारी गरेको छ । अहिलेसम्म राज्यमा बर्ड फ्लूको मामिला फेला परेको छैन । पोल्टी फार्ममा एकसाथ 10 कुखुरा मरे भने जानकारी दिन भनिएको छ । मध्य प्रदेशको इन्दौरमा करीब 50 कागहरु बर्ड फ्लूका कारण संक्रमित भएको पुष्टि भएको छ । त्यहाँ तीन दिन पहिला 50 काग मृत भेटिएका थिए । बर्ड फ्लूका कारण श्वास लिनमा समस्या, उल्टी भएको जस्तो हुनुका साथै ज्वरो, सिगान बग्नु, मांसपेशी, पेटमूनि र टाउको दुख्ने गर्दछ । यो रोग कुखुरासहित संक्रमित पंक्षीको नजिक हुँदा मानिसहरुमा सर्ने गर्दछ । मानिसहरुमा आँखा, नाक र मुखको माध्यमबाट यो रोग प्रवेश गर्दछ । क्षेत्रमा संक्रमण फैलिएको छ भने मासु खरिद गर्दा ख्याल राख्ने र मास्क लगाउनु उचित हुन्छ ।









































