नयाँ दिल्ली, 12 मार्च
भारतमा कोरोना संक्रमित हुनेको संख्या 60 नाघेपछि सावधानीका लागी भन्दै 15 अप्रेलसम्म सम्पूर्ण पर्यटक भिसा निलम्बित गरिएको छ । हिजो जारी गरिएको एक सरकारी विज्ञप्तिमा यो निर्णय शुक्रवार मध्याह्न 12 बजेदेखी लागू हुने भनिएको छ । केन्द्रीय स्वास्थ्यमन्त्री डाक्टर हर्षवर्धनको अध्यक्षतामा भएको बैठकमा यस्तो निर्णय गरिएको हो । निर्णयका अनुसार कुटनीतिक, सरकारी, संयुक्त राष्ट्र,अन्तर्राष्ट्रिय संगठन, रोजगार र परियोजनासँग सम्बन्धित भिसाबाहेक सम्पूर्ण भिसाहरु 15 अप्रेलसम्मका लागि निलम्बित गरिएको हो ।
कुनै अपरिहार्य कारणले भारत आउने विदेशी नागरिकले भने विदेशस्थित भारतीय दूतावासमा सम्पर्क गर्न सक्ने पनि भनिएको छ ।
अर्को तर्फ भारतीय नागरिकहरुलाई अनावश्यक विदेशको यात्रामा नजान पनि सुझाव दिइएको छ । विदेशबाट आउने भारतीय सहित सबै यात्रुहरुलाई कम्तीमा 14 दिन छुट्टै राखिने पनि भनिएको छ ।









































