नयाँ दिल्ली, २३ जनवरी
अटो व्यवसायीले भारतमा बनेका गाडीहरु नेपाल ल्याएर तेस्रो मुलुक पठाउने योजना गरेका छन् ।
व्यवसायीले नेपालबाट तेस्रो मुलुकमा सवारी निर्यात गर्न प्रस्ताव गर्न थालेका छन् । नेपाल पूर्णरुपमा सवारीसाधनको आयातकर्ता मुलुक हो । बजाज मोटरसाइकल र केही विद्युतीय साइकलबाहेकका सवारी एसेम्बल पनि हुँदैनन् ।
सरकारमा पेश भइसकेको प्रस्ताव सरकारले स्वीकृत गरेमा नेपालमा बन्ने सवारी अन्य मुलुकमा जाने भने हैन, भारतबाट आएका सवारीलाई नै तेस्रो मुलुकमा पठाइने छ ।
अर्थमन्त्रालयका एक अधिकारीका अनुसार कम्पनीले ५ प्रतिशत मूल्य अभिवृद्धि गरेर सो गाडी बंगलादेश पठाउने प्रस्ताव गरेको हो । भारतमा एसेम्बल हुने गाडी नेपाली भन्सारसम्म ल्याएर त्यसलाई फेरि बंगलादेश पठाउन जीओको प्रस्ताव छ ।
प्रस्ताव अनुसार सो गाडी नेपालको भन्सारसम्म आएपनि नेपाल भित्रिने छैन र निर्यात गर्दा पनि कर लगाउन पाइने छैन ।
अर्थ मन्त्रालयले यो प्रस्तावमाथि अध्ययन र छलफल गरिरहेको छ । यो प्रस्ताव पास भएका सवारी आयात गरेर अरु देशमा निर्यात गर्ने बाटो खुल्नेछ ।
आर्थिक ऐनमा कुनै व्यक्तिले नेपालमा आयात हुने वस्तु बैकिङ प्रक्रियामार्फत भुक्तानी हुने गरि निर्यात गर्न चाहेमा पैठारी मूल्यमा १० प्रतिशत मूल्य अभिवृद्धि गर्नुपर्ने व्यवस्था छ ।









































