पञ्जाब, 15 मार्च 2020
भारतको पञ्जाब राज्यमा तरन तारन जिल्लाको संगरूर सहरमा मानसिक स्थिति गुमाएका एक नेपाली युवक फेला परेका छन्। कहिले काठमाण्डौँ त कहिले ओखलढुङ्गा घर बताउने अनदाजी 20 वर्षका पेसल थापा घर पुऱ्याइदिन भन्दै भट्ने जति सबैलाई आग्रह गरिहिड्छन्। मानसिक स्थिति ठिक नरहेका पेसललाई अलपत्र अवस्थामा भेटाएपछि एक मानसिक रोग अस्पतालमा पुऱ्याइएको छ। लामो समयसम्म भारतका विभिन्न ठाँउमा भौतारिरहेका उनि उपचारभन्दा पनि परिवारलाई खोजिरहेका छन्। केही समय पहिला हरियाणाको हिसारमा देखिएका उनि अहिले पञ्जाबको संगरूर सहरस्थित अखिल भारतीय पिंगलवाडा च्यारिटेबल सोसाइटी अस्पतालमा छन्।

उनि त्यहाँ कसरी पुगे भन्ने बारेमा पनि बताउन सक्दैनन्। सो अस्पतालमा मानसिक स्थिति गुमाएका एक नेपाली युवकको बारेमा थाहा भएपछि मूल प्रवाह अखिल भारत-नेपाली एकता समाज, संगरूर महिला विभाग अध्यक्ष लक्ष्मी खनाल पाण्डेलगायतको टोली पुगेर उनको खोजखबर गरेको छ।

जानकारीका अनुसार पेसलले आफ्नो घर ओखलढुङगा बताएका छन् भने बुवाको नाम ढकबहादुर थापा र आमाको नाम भीम कुमारी थापा बताएका छन्। यद्यपि उनले आफुलाई भएको स्मरणसम्म सैब जानकारीहरू बताएपनि मानसिक सन्तुलन गुमाएका कारण धेरै कुरा फरक परेको हुन सक्छ तर तस्विरमा देखिएका यी व्यक्ति पेसल थापालाई चिन्नुहुनेले भारतीय मोबाईल नम्बरहरू 9501663084 र 9463165755 मा सम्पर्क गर्न मूल प्रवाह अखिल भारत-नेपाली एकता समाजको महिला विभाग अध्यक्ष लक्ष्मी खनाल पाण्डेले अनुरोध गर्नुभएको छ।









































