22 अक्तूबर 2021
भारतमा यस वर्ष चिया निकासी प्रभावित हुने संकेत देखिएको छ । यसवर्ष भारतीय आयातकर्ताले नेपाली चिया उत्पादकलाई दिने मूल्य निकै कम प्रस्ताव गरेका छन्, जसका कारण उत्पादकहरू गोदाममा चिया थन्क्याउन बाध्य भएका छन् । गत वर्ष २०० रुपैयाँ प्रतिकेजीसम्म (सीटीसी) चिया भारतमा निकासी भएको थियो । भारतमा गत वर्ष लकडाउनका कारणले बगान र फ्याक्ट्रीहरू बन्द रहेकाले पनि नेपाली उत्पादकले राम्रो मूल्य पाएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अधिकारीहरू बताउँछन् । यद्यपि, यो वर्ष भने उत्पादनको लागत मूल्यभन्दा कम मूल्य प्रस्ताव आएको र यो मूल्यमा निकासी गर्न सम्भव नभएको उत्पादकहरू बताउँछन् । गत वर्ष २०० रुपैयाँ प्रतिकेजीसम्ममा निर्यात भएको नेपाली चियालाई भारतीय आयातकर्ताले ८० देखि ९० रुपैयाँ प्रतिकेजी प्रस्ताव गरेका छन् । त्यस्तै, हरियो पत्ता गत वर्ष प्रतिकेजी ४० देखि ४५ रुपैयाँसम्ममा निकासी भएको थियो, अहिले हरियो पत्ताका लागि ७–८ रुपैयाँमात्र मूल्य प्रस्ताव भएको छ । जसका कारण उत्पादकहरू चिया गोदाममा थन्क्याउन बाध्य छन् । नेपालको प्रमुख निकासीवस्तु चिया गत वर्ष १३ हजार एक सय ४० टनको परिमाणमा ३ अर्ब ७९ करोड रुपैयाँमा निकासी भएको थियो । नेपालका २८ जिल्लामा १६ हजार ९ सय हेक्टरभन्दा धेरै क्षेत्रफलमा चिया खेती हुँदै आएको छ भने १४ हजारभन्दा धेरै साना उत्पादकहरू संलग्न छन् । प्रमुख नगदेबालीका रूपमा लिइने चियाको वार्षिक उत्पादन झण्डै २५ हजार टन छ । नेपाली चियालाई विश्वबजारमा पठाउन चियाको ‘अक्सन हाउस’ निर्माण गर्ने र विश्वबजारबाट दरको बोलकबोलबाट बेच्ने नीतिगत घोषणा अब कथा भैसकेका छन् । जसले गर्दा नेपाली उत्पादक भारतीय बजारमा निर्भर छन् । नेपालमा उत्पादित चियामध्ये आधाभन्दा धेरै निकासी हुँदै आएको छ । आन्तरिक खपत धान्न नेपालले वार्षिक सवा दुई सय टनसम्म चिया आयात पनि गर्दै आएको छ ।









































