नयाँ दिल्ली, 19 मार्च 2021
भारतमा बसेका प्रवासी नेपालीहरुका हकहितको रक्षाका लागि आवाज उठाँउदै आएको नेशनल लाईभ वेब टेलिभिजनले प्रवासी नेपालीसँग सम्बन्धित विषयहरुमा समन्वय गरि अघि बढ्न दिल्लीस्थित नेपाली राजदूतावाससँग परामर्श गरेको छ । नेशनल लाईभको सञ्चालक टिमका कार्यकारी सदस्यहरु देवेन्द्र कुँवर, लोकेश शाह र इन्द्रकमल जैरुले आज दिल्लीस्थित नेपाली दुतावासका नियोग उपप्रमुख राम प्रसाद सुवेदीसित भेट गर्दै नेपालीहरुका मुद्धामा मिलेर अगाडी बढ्ने विषयमा छलफल भएको हो । समारोहमा बोल्दै सुवेदीले भारतमा रहेका हरेक नेपालीका समस्या समाधान गर्ने विषयमा दिल्लीस्थित नेपाली दूतावास प्रतिवद्ध रहेको भएपनि कतिपय मुद्धामा सोचेको जस्तो काम हुन नसक्ने बताउनु भयो । उहाँले पछिल्लो समय कोभिड महामारीका बेला दूतावासबाट अपेक्षित काम हुन नसकेको भएपनि अब आफुहरुले हरेक नेपालीको पहुँच दूतावासमा हुने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भारतमा रहेका नेपालीहरुसम्म नेपाल सरकारका सूचना प्रवाह गर्न नेशनल लाईभ राम्रो माध्यम बनेकाले नेपाली दूतावासले आगामी दिनमा समन्वय गर्ने आश्वासन दिनुभयो । नेशनल लाईभले प्रवासी नेपालीहरु सम्बन्धित मुद्दालाई दूतावासले मिडियाको माध्यमले बाहिर ल्याउनुपर्ने आवाज उठाएको थियो ।









































