नयाँ दिल्ली, 9 सेप्टेम्बर
भारतमा यसै महिनाको 21 सेप्टेम्बरबाट कक्षा 9 देखि 12 सम्मका विद्यार्थीहरुका लागि विद्यालय खोलिने भएको छ । भारत सरकारले आज विद्यालयमा पठन-पाठनका लागि एक मापदण्ड समेत जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले स्वैच्छिक आधारमा आंशिक रूपले विद्यालय खोल्नका लागि मापदण्ड जारी गरेको हो ।
मापदण्डका अनुसार कोभिड-19 को लक्षण भएका विद्यार्थी, शिक्षक र स्टाफहरुलाई स्कूलमा प्रवेश गर्न रोक लगाइएको छ । त्यसैगरि विद्यार्थीहरुले एक आपसमा कापी, कलम, पेन्सील र पानीको बोतल लगायतका सामग्री आदान-प्रदान गर्न पाउने छैनन । विद्यालयमा सभा र खेल खेल्न पनि प्रतिबन्ध गरिएको छ ।
दिशा निर्देश अनुसार, स्कूलमा विद्यार्थीहरुलाई बस्नका लागि कम्तिमा 6 फिटको दूरी कायम गरिएको हुनेछ । शिक्षक र विद्यार्थीहरुले मास्कको अनिवार्य रुपमा प्रयोग गरेको हुनुपर्नेछ । शिक्षक र विद्यार्थीहरुको संवाद हुँदा खुल्ला मैदानको प्रयोग गरिएको हुनुपर्नेछ ।
शिक्षक र अन्य स्टाफहरु आधा संख्यामा बोलाइएको हुनु पर्नेछ । स्कूलहरुमा फेस कवर, मास्क, सेनिटाइजर, थर्मल गन, अल्कोहल वाइप, डिस्पोजिबल पेपर टावल, साबुन आदिको पर्याप्त व्यवस्था गरिएको हुनुपर्ने भनिएको छ ।
विद्यार्थीहरुले स्कूल जानका लागि अभिभावकको लिखित अनुमति लिएको हुनुपर्नेछ र त्यसका लागि शिक्षक-विद्यार्थीहरुको बिचमा समय-समयमा संवाद हुनुपर्ने भनिएको छ ।
त्यसैगरि क्वारिन्टिन सेन्टरको रुपमा प्रयोग गरिएको विद्यालयहरुलाई सेनिटाइज गरिएको हुनुपर्नेछ । यदि स्कूल हातामा कसैलाई कोभिड-19 को लक्षण देखिएको अवस्थामा उसलाई अलग्गै राखेर अस्पतालहरुलाई जानकारी दिइनेछ ।









































