दिल्ली, 1 जुलाई 2022
भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा नेपाल विद्युत् प्राधिकरणले एक महिनामा प्रतिस्पर्धी दरमा १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत् बिक्री गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट आइएक्समा बिक्री सुरु गरेको थियो ।नेशनल लाइभ टी.भीलाई प्राप्त जानकारी अनुसार सुरुमा दुई वटा विद्युत्गृहको ३९ मेगावाट विद्युत दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रुपमा ३६४ मेगावाट विद्युत् भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै आएको छ ।
नेपाल विद्युत प्राधिकरणले भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणबाट ६ वटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत आइएक्स मार्केटमा बिक्री गर्न स्वीकृति पाएको छ ।
जुन महिनामा १७ करोड ८१ लाख ९१ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरिएको छ । प्राधिकरणले यस अवधिमा भारतमा बिक्री गरेको विद्युतबाट सम्पूर्ण शुल्कहरु कटाएर खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँ कमाएको छ । जुन महिनामा प्रतिस्पर्धी बजारमा बिक्री गरिएको विद्युतको औसत प्रति युनिट दर ९ रुपैयाँ ६७ पैसा छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालले गत वर्षबाट सुरु गरिएको भारतीय प्रतिस्पर्धी बजारमा विद्युत व्यापार यस वर्षबाट थप प्रभावकारी रुपमा अगाडि बढेको बताउनुभयो । ‘जुन महिनामा निर्यात गरिएको विद्युतको परिमाण र त्यसबाट प्राप्त भएको बिक्री मूल्यलाई हेर्दा भारतसँगको विद्युत व्यापार प्रभावकारी रुपमा अगाडि बढेको छ, विदेशी मुद्रा सञ्चितिको चाप परिरहेको हालको अवस्थामा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत बिक्री गरी विदेशी मुद्रा आर्जन गर्न सफल भएका छौं’, कार्यकारी निर्देशक घिसिङले भने । ‘यसबाट नेपालको भारतसँगको व्यापार घाटालाई केही कम गर्न र देशको सोधानान्तर बचतमासमेत योगदान पुग्ने छ ।’
चालु आर्थिक वर्षमा करिब ५ अर्ब र आगामी वर्षमा करिब २० अर्ब रुपैयाँको विद्युत निर्यातको प्रक्षेपण गरिएको उनले बताए । भारतसँगको विद्युत् व्यापारले नेपालको जलविद्युत्को विकासमा ठूलो सहयोग पुग्ने उनको भनाइ छ ।









































