भारत, 25 सितम्बर 2021
भारतीय चर्चित अधिकारकर्मी कमला भासिनको शनिबार निधन भएको छ । भासिनको 75 वर्षको उमेरमा निधन भएको हो । भासिनको निधनको पुष्टि अभियन्ता कविता श्रीवास्तवले गरेकी छन् । उहाँको निधनले भारत र दक्षिण एसियाको महिला आन्दोलनमा धक्का पुगेको छ । कठिन परिस्थितिका बाबजुद पनि भासिनले जीवनलाई उत्सवमय बनाउनु भएको थियो । सन् 1946 अप्रिल 24 मा राजस्थानमा जन्मिएकी भासिनलाई केही महिनाअघि क्यानसर लक्षण देखिएको थियो । महिलावादी आन्दोलनका लागि चर्चित नेटवर्क ‘संगत’ मार्फत उहाँले अभियान चलाएकी थिइन् । भासिनको ‘क्यों कि मे लड्की हूँ, मुझे पढ्ना है’ चर्चित कविता हो । भासिनले समाजमा महिला र पुरुष भनी छुट्याउने संस्कार गलत भएको बताउदै आउनुभएको थियो । महिलालाई विभिन्न प्रलोभनमा पारेर दमन गरिएको उनी बताउँथिन् । उनी बारम्बार भन्ने गर्थिन्, ‘मध्यमवर्गीय महिलाहरूलाई श्रीमान् या घर परिवारले सम्पत्ति, पैसा, गहना दिएर चुप लगाएको छ । यदि ती परिवारमा श्रीमान्बाट महिला प्रताडित नै भएकी छन् भने पनि आवाज उठाउन हिच्किचाउँछन् । उनीहरूलाई लाग्छ कि खान लाउन र यत्रो गरगहना पुर्याइदिएकै छन्, फेरि आफ्नै मान्छेको विरुद्ध के उजुर–बाजुर र कचहरी गर्नु ।’ सामाजिक वैज्ञानिकका रुपमा उनी विकास, शिक्षा, लैंगिक समानता र आमसञ्चारका क्षेत्रमा ३५ वर्षभन्दा बढी सक्रिय थिइन् । सन् १९७२ को राजस्थानको ग्रामीण भेगबाट उनले आफ्नो अभियान चलाएकी थिइन् । सन् १९७६ देखि २००१ सम्म राष्ट्रसंघीय नियोग खाद्य तथा कृषि संगठन (एफएओ) मा उनले काम गरेकी थिइन् । सन् २००२ मा उनले राष्ट्रसंघको जागिर छाडेर ‘संगत’ मार्फत विभिन्न अभियान चलाएकी थिइन् ।









































