काठमाण्डौ, 5 नोभेम्बर
भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ प्रधान सेनापतिको पदवी प्रदान गरिएको छ। आज अपरान्ह करिब चार बजे राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको हो । 3 दिने नेपाल भ्रमणमा रहनु भएका भारतीय सेनाध्यक्ष नरवणेलाई शितल निवासमा गरिएको विशेष समारोहमा नेपाली सेनाको मानार्थ प्रधान सेनापतिको पदवी दिइएको हो ।
उक्त समारोहमा प्रधान सेनापति, नेपाल सरकारका उच्च अधिकारीहरू, नेपालका लागि भारतका राजदूत लगायतको उपस्थिति रहेको थियो ।
उक्त समारोह पश्चात सम्माननीय राष्ट्रपतिसमक्ष स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले शिष्टाचार भेट गर्नु भयो ।
नेपाली सेनाका प्रधानसेनापति पूर्ण चन्द्र थापालाई पनि भारतीय सेनाको मानार्थ सेनाध्यक्षको पदवीले सम्मानित गरिएको छ ।
सन् १९५० मा पहिलो पटक सुरु भएको मानार्थ महारथीको दर्जा दिने परम्पराले ७० वर्षसम्म पनि निरन्तरता पाइरहेको छ। सन् १९५० मा स्वतन्त्र भारतका जनरल केएम करियप्पालाई पहिलोपटक नेपालमा मानार्थ महारथी पदवी प्रदान गरिएको थियो। नेपाली सेनाका तर्फबाट भने त्यसको ठिक १९ वर्षपछि अर्थात् सन् १९६९ मा सुरेन्द्रबहादुर शाहले भारतीय सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गरेका थिए।
यसअघि, भारतीय सेनाध्यक्ष नरवणेलाई आजै बिहान सैनिक मुख्यालयमा गार्ड अफ अनर प्रदान गरिएको थियो। उहाँको सम्मानमा आजै जङ्गीअड्डामा रात्रिभोज आयोजना हुनेछ ।









































