काठमाण्डौ, 6 नोवेम्बर 2020
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेले नेपाली सेनाको मानार्थ महारथी सम्मान पाइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ। तीन दिने औपचारिक भ्रमणमा नेपाल आउनुभएका नरवाणेले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्नुभएको हो। भेटमा दुबै देशका सेनाप्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गरिदै आएको परम्पराले दुई देशको विशिष्ठ सम्बन्धको उदाहरण प्रस्तुत गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो। हरेक हिसाबले नेपाल भारत नजिकका छिमेकी भएको स्मरण गर्दै ओलीले दुई देशको सम्बन्ध सुमधुर होस भन्ने चाहाना आफ्नो रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले पारस्परिक समानता र पारस्परिक सम्मानका आधारमा दुई देशको सम्बन्ध अगाडी बढ्नुपर्ने पनि बताउनुभयो । दुबै देशबीच सीमा लगायत अन्य कतिपय विषयमा समस्या भएपनि वार्ताको माध्यमबाट ती समस्याहरु हल गर्नुपर्नेमा ओलीले जोड दिनुभयो। वार्ता र संवादको माध्यमबाट विगतदेखि रहेका समस्या समाधान गर्दै सम्बन्धलाई समयाअनुसार अगाडी लिएर जानुपर्ने ओलीले बताउनुभयो ।
भारतीय सेनाप्रमुख नरवाणेले नेपाल भारतसँग सम्बन्धमा राम्रो हुनुपर्छ भन्ने मान्यताका साथ अगाडी बढीरहेको कुरा बोकेर भारत फर्किन लागेको बताउनुभयो । डा. भट्टराईका अनुसार नरवाणेले प्रधान सेनापति पूर्णचन्द्र थापासँगको शिष्टाचार भेटमा दुबै देशका सेनाबीच एक आपसमा कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा कुराकानी भएको जानकारी पनि प्रधानमन्त्रीलाई दिनुभएको थियो ।
भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि बढेको सीमा विवाद समाधानका लागि यस्ता औपचारिक भेटवार्ताहरुले सहयोग पुग्ने डा. भट्टराईले बताउनुभयो । विगत एक वर्षदेखि बढ्दै गएको दुई देशबीचको सीमा समस्या समाधानका लागि पटक पटक वार्ताको प्रस्ताव गर्दा पनि सफल हुन नसकेको सन्दर्भमा नियमित कुराहरुलाई निरन्तरता दिन सके सीमा समस्या समाधानका लागि औपचारिक वातावरण बनाउँदै समस्या समाधान हुने मान्यता रहेको डा. भट्टराईले बताउनुभयो । भेटमा प्रधानमन्त्रीसँगै उनका विदेश मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल पनि सहभागी हुनुहुन्थ्यो । त्यस्तै नरवणेसँगै नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रा पनि सहभागी हुनुहन्थ्यो ।









































