काठमाडौं, 20 जुलाई 2022
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भारत भ्रमणका विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदलाई जानकारी गराउनुपर्ने माग गरेको छ । प्रचण्ड भारत भ्रमणमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा पनि भारतमै रहेको र त्यही बेला भारतीय पक्षले नेपाली भूमि मिच्ने क्रम बढाएको दाबी गर्दै नेमकिपा सांसद प्रेम सुवालले प्रचण्डले भारत भ्रमणबारे जानकारी गराउनुपर्ने बताए । उनले भने ‘सरकारी अधिकारीहरु र नेताहरु जति जति भारत भ्रमणमा जान्छन् त्यति त्यति भारतीय पक्षले नेपालको भूमिमा अतिक्रमण बढाएको छ’ । ‘माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको भर्खरै भारत भ्रमण भयो । प्रधानमन्त्रीपत्नी आरजु राणा पनि उतै हुनुहुन्छ । यही बेला नेपाली भूमिमाथि भारत सरकारले मिच्ने काम पनि बढाएको छ । यसबारे माओवादी अध्यक्षज्यूलाई संसदमा बोल्न दिनु जरुरी छ ।’









































