काठमाडौं, 20 मई 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै हुन लागेको भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने गरी तयारी भइरहेको बताएका छन्।शनिबार काठमाडौंमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ रेकर्ड बनाउने गरी भारत भ्रमणको तयारी भइरहेको बताएका हुन्।
’उनले भने, ‘मैले निकट भविष्यमा नै हुन लागेको भारत भ्रमणका क्रममा पनि केही रेकर्डहरु बनाउन सकिन्छ भन्ने विस्वासका साथ तयारी भएको छ। ‘मलाई लाग्छ, केहि रेकर्डहरु नेपाल र नेपाली जनताको पक्षमा नेपालको राष्ट्रको पक्षमा बनाउने मेरो पूरै कोसिस छ’।
उनले अन्तराष्ट्रिय क्षेत्रमा पनि नेपालको विकास र समृद्धिको पक्षमा नयाँ पहल कदमी लिन जोड गरेको उल्लेख गरे। उनले नयाँ इतिहास बनाउन सम्भव भएको दाबी गरे ।
‘हामीलाई दबाव छ। तर जनताको साथ छ। सरकारको काममा जनताको उत्साह देखिएको छ’ उनले भने, ‘युद्धको बेला पनि घेराबन्दी र सखाप पार्ने रणनीति चिरेरै आएका हौं। अहिले पनि घेराबन्दी चिरेर अगाडि बढ्छौं।’
उनले थपे ‘कतिपय शक्तिहरूबाट संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने प्रयास भइरहेको छ यसलाई रोक्न परिवर्तन पक्षधर शक्तिहरू एक हुनुपर्छ।’
उनले अहिले सरकार सुशासन, विकास र समृद्धिको नयाँ संकल्पसहित अगाडि बढेको दाबी गरे। प्रचण्डले भने,‘हामीलाई दबाव छ । तर जनताको साथ छ । सरकारको काममा जनताको उत्साह देखिएको छ।’









































