भूकम्पपीडितलाई तत्काल घर बनाउन प्रतिपरिवार ५० हजार दिने सरकारको निर्णय
काठमाडौँ, 11 नोभेम्बर 2023
सरकारले जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घरबास गुमाएका पीडितहरूलाई अस्थायी आवास बनाउनका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले तत्काल अस्थायी आवास बनाउन प्रतिपरिवार ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
शुक्रबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले पीडित परिवारलाई अस्थायी आवास निर्माण गर्न जस्तापाता खरिद लगायत अस्थायी आवास निर्माण सामग्रीका लागि राहत दिने तयारी अघि बढाएको हो । बैठकमा अर्थमन्त्री प्रकाशशरण महत, सहरी विकासमन्त्री सीता गुरूङलगायत विपद् र सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।
कार्तिक १७ मा गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमका ३५ हजारभन्दा धेरै परिवार घरबासविहीन भएका छन् ।









































