काठमाडौं, 13 जुलाई 2022
भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा बुधबार अपराह्न आगलागी भएको छ । आगो लाग्दा गोदाममा रहेका अरु पनि सामान नष्ट भएका छन् । दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयवासीले आगो निभाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले जनाएका छन् । आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ। बुधबार साँझ ५ बजेसम्म पनि आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छैन । प्रत्यक्षदर्शीहरूका अनुसार आगो अन्यत्र फैलिएर क्षति गर्न भने पाएको छैन । घटनाबाट कतिको क्षति भयो भनेर यकिन गर्न नसकिएको काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बोहराले जनाए। आगलागी भइरहँदा अवलोकन गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह पनि भृकुटीमण्डप पुगेका थिए।









































