नयाँ दिल्ली, 21 मार्च, खुम गुरुङ
नेपाल-भारत सीमामा बसहरुलाई ओहोर-दोहोर गर्न नदिने भनिएपछि आजदेखि नेपाल-भारत मैत्री बसको सञ्चालन नहुने बस संचालकहरुले बताएका छन । विश्वभरि फैलिएको महामारी कोरोना भाइरस कोभिड-19 को रोकथामका लागि विभिन्न देशका सरकारहरुले सावधानीका उपायहरु अपनाईरहेका छन । यही सन्दर्भमा नेपाल-भारत चल्दै आएका मैत्री बसहरुले आज अन्तिम बस नेपाल पठाउँदै भोलीदेखि सेवा स्थगन हुने बताएका छन । नेपाल सरकारले कोरोना रोकथामका लागि गरेको प्रयास स्वरुप अर्को आदेशसम्मका लागि सेवा स्थगित गरेका हुन ।

दिल्लीको कश्मिरी गेट बसपार्कदेखि दिल्ली-पोखरा मैत्री बस सञ्चालन गर्दै आएको मोर्डन ईरा टूर एण्ड ट्राभल्सले दिल्लीबाट शुक्रवार आफ्नो अन्तिम बस नेपाल पठाएको छ । यद्धपी यो निर्णयले व्यवसायमा मार पर्नुका साथै यात्रुहरुले पनि सास्ती भोग्नु पर्ने भएपनि कोरोना रोकथामको सन्दर्भमा यो उचित कदम भएकाले आफुहरुले सेवा स्थगित गरेको ट्राभल्सका कार्यालय सचिव रामचन्द्र ढुङ्गानाले बताउनुभयो ।

त्यसैगरि दिल्ली-काठमाण्डौ मैत्री बस सञ्चालन गर्दै आएको मञ्जुश्री यातायातले भने आज विहान 7 बजे आफ्नो अन्तिम बस पठाएको छ । मञ्जुश्री यातायातका सञ्चालक प्रवीन जैनले कोरोना भाईरसको रोकथामको जिम्मेवारी तपाई-हाम्रै भएको भन्दै यसको रोकथामका लागि बसको आवत-जावत रोकेको बताउनु भएको छ ।

यद्धपी आज अन्तिम दिन बस नेपाल पठाएपनि भोलीदेखि सीमासम्म बस चलाउने योजना बस संचालकहरुले बनाएको हाम्रा सहकर्मी खुम गुरुङले बताउनुभयो ।









































