काठमाडौं, 17 अगस्त 2021
ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले अनियमितता र भ्रष्टाचार नगर्न मातहतका निकायलाई कडा निर्देशन दिनुभएको छ । मंगलबार नेपाल विद्युत प्राधिकरणको ३६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री भुसालले आफूले भ्रष्टाचारविरुद्ध शुन्य सहनशिलताको नीतिलाई प्राथमिकतामा राखेको भन्दै अनियमितता र भ्रष्टाचार नगर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिनुभएको हो । कसैले भ्रष्टाचार गरेमा कठोर कदम चाल्ने उहाँको चेतावनी छ ।
मन्त्री भुसालले भन्नुभयो – ‘भ्रष्टाचारविरुद्ध शुन्य सहनशिलता र चेन अफ कमाण्डलाई मैले सधैँ प्राथमिकतामा राख्ने गरेको छु । अनियमितता, भ्रष्टाचार कहिँ कसैले पनि नगर्न म निर्देशन गर्दछु । यदी कोही यस्तो गतिविधिमा संलग्न भएको भेटिएमा कठोर कदम चालिनेछ ।’
मन्त्री भुसालले किसानलाई सिँचाईमा प्रयोग हुने विद्युत सहुलियत दरमा उपलब्ध गराउने पनि आफ्नो प्राथमिकता रहेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा वर्षायाममा विद्युत खेर जान नदिन र खपत बढाउनका लागि वर्षायाम र सुख्खा यामको फरक–फरक विद्युत महशुल निर्धारण गर्ने निर्णय भइसकेको पनि जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – ‘आगामी दिनमा वर्षायामको विद्युत खेर जानसक्ने अवस्थालाई मध्येनजर गरी आन्तरिक खपत बढाउने कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्दछ । यसलाई मध्यनजर गरी वर्षायाम र सुख्खायामको फरक–फरक विद्युत महशुल निर्धारण गर्ने निर्णय सञ्चालक समितिले गरिसकेको छ ।’
उहाँले विद्युत प्राधिकरणले ग्राहकहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराउन धेरै मेहनत गर्नुपर्ने र गुनासोहरुको तत्काल सम्बोधन गर्न संयन्त्र बनाउने तथा वितरण संरचनाको स्तरोन्नति एवम् विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वि.सं. २०८० सालभित्र नेपालका सबै जनसङ्ख्यामा विद्युतको पहुँच पुर्याउने सरकारको लक्ष्य पुरा गर्नेगरी प्राधिकरणले काम अगाडी बढाएको बताउनुभयो । उहाँले महाराजगञ्ज वितरण केन्द्रका केही स्थानमा वितरण प्रणालीलाई भुमिगत गर्ने कार्य सम्पन्न भएको र कुलेश्वर, किर्तिपुर, बानेश्वर, जोरपाटी र बालाजुमा वितरण लाइन भुमिगत गर्ने काम अगाडी बढेको बताउनुभयो । त्यस्तै ललितपुर, भक्तपुर, पोखरा र भरतपुरमा पनि वितरण लाइन भुमिगत गर्ने कामको प्रक्रिया शुरु भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – ‘सम्वत् २०८० सालभित्र नेपालका सबै जनसंख्यामा विद्युतको पहुँच पुर्याउने नेपाल सरकारको लक्ष्य पूरा गर्न प्राधिकरणले आवश्यक कार्य गरिरहेको छ ।’
कार्यकारी निर्देशक घिसिङले देशभर थ्रिफेज मिटरलाई स्मार्ट बनाउने कार्य अगाडी बढाइएको पनि बताउनुभयो । वितरण प्रणालीलाई स्वचालित बनाउने काम पनिको पनि प्रक्रिया थालनी गरिएको उहाँले उल्लेख गर्नुभयो ।









































