महाकालीमा पानीको सतह बढेपछि सवारीसाधन रोकिए
काठमाडौं, 14 अगस्ट 2023
महाकाली नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ । आइतबार साँझदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । लगातारको वर्षापछि नदीमा पानीको बहाव बढेर एक लाख क्युसेक नाघेपछि रोक लगाइएको हो ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार सोमबार बिहान महाकालीमा पानीको बहाव १ लाख ७० हजार क्युसेक पुगेको छ ।
सय वर्ष पुरानो पुल कमजोर भएकाले जोखिम हुन सक्ने भन्दै महाकालीमा पानीको वहाव १ लाख क्युसेक नाघ्नेबित्तिक्कै चार पांग्रे सवारीसाधन आवागमनमा रोक लगाइने गरिएको छ ।
यस्तै, कर्णाली नदीमा पानीको बहाव बढ्दो छ । सुर्खेतको कर्णाली नदीमा अहिले पानीको बहाव ७ दशमलव ६९ मिटर पुगेको छ । निरन्तर वर्षा भइरहेकाले कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ ।
कर्णालीमा पानीको सतह ८ मिटर पुगेमा खतरा तह मानिन्छ ।
यस्तै, बर्दियाको बबई नदीमा पानीको बहाव ७ दशमलव १६ मिटर पुगेको छ । त्यहाँ पानीको सतह ८ मिटर पुगे खतराको तहमा पुग्छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आज तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ ।
यसैबीच, कैलालीका टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले जोखिम क्षेत्रमा ‘साइरन बजाएर’ सूचना दिन थालेका छन् ।
यस्तै, चितवनमा पनि नारायणी नदीको तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । नारायणी नदीमा पानीको बहाव ७ दशमलव ३५ मिटर पुगेको छ । त्यहाँ पानीको सतह ९ मिटर पुगे खतरा मानिन्छ ।