कञ्चनपुर, 10 नोभेम्बर, हिम शाह
महेन्द्रनगरमा पनि संवैधानिक राजतन्त्रका पक्षमा प्रदर्शन भएको छ। मंगलबार दिउँसो राष्ट्रवादी युवाहरुको समुहले राजतन्त्र र हिन्दु धर्म कायम हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन्। उनीहरुले गणतन्त्र र धर्म निरपेक्षता खारेज गरेर संवैधानिक राजतन्त्र र हिन्दु धर्म कायम हुनुपर्ने माग गरेका छन्। ‘गणतन्त्र र धर्म निरपेक्षताका नाममा भ्रष्टाचार र पार्टीगत विभाजनले देश डुबिसक्यो,’ प्रदर्शनमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरका अध्यक्ष पुर्ण बहादुर चन्दले भने, ‘यसकै विरोधमा हामीले प्रदर्शन गरेका हौं।’ भीमदत्त नगरपालिकाको शिवमन्दिरबाट सुरु भएको र्याली महेन्द्रनगर बजार परिक्रमा गरेर मदनचोकको भेटघाट चौतारीमा समापन गरिएको थियो।









































