काठमाडौं, 21 सितम्बर 2021
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक मंगलबारबाट काठमाडौंमा सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बैठकमा पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सङ्गठन विस्तार, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, समसामयिक राजनीतिक विषयवस्तुलगायतका विषयमा आवश्यक रणनीति तयार गर्नेबारे छलफल हुने पार्टीका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाले अध्यक्षको प्रतिवेदनमाथि समूहगत छलफल गरेर बुधबारको बैठकमा समूहगत निष्कर्ष प्रस्तुत हुने बताउनुभयो । नेकपा (एमाले) बाट अलग भई गठन भएको एकीकृत समाजवादी पार्टीको यो केन्द्रीय कमिटीको पहिलो बैठक हो । त्यस्तै बैठकको सुरुमा नै सदस्यहरुलाई सपथ गराइएको खतिवडाले बताउनुभयो । उहाले बुधबार नै आवश्यक निर्णय गरेर बैठक सम्पन्न हुने जानकारी दिनुभयो । त्यसअघि बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष नेपालले एमाले दक्षिणपन्थी भासमा भासिएकाले नयाँ पार्टी बनाएको तर्क गर्नुभयो । उहाले पार्टी विभाजनपछि आफूहरु सुदूरपश्चिम र प्रदेश २ मा ठुलो दलको उभिएको दावी गर्नुभयो । नेपालले आफ्नो दल यथास्थितिवादी पार्टी नभएको र राष्ट्र पुँजीलाई जोड दिन चाहेको बताउनुभयो । समावेशिताको मान्यतामा पार्टी अघि बढ्ने र काम गर्नेलाई प्रोत्साहन गर्ने उहाले बताउनुभयो । नेकपा समाजवादीले हालसम्ममा देशका ५५ जिल्लामा कार्यसमिति गठन जनाएको छ । सो पार्टीको कार्यसमितिमा हाल ११३ केन्द्रीय सदस्य छन् ।









































