काठमाडौं, 27 मई 2022
गृहमन्त्री बालकृष्ण खाणले मानव अधिकारमैत्री वातावरण सिर्जना गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगको २२ औं बार्षिकोत्सवका अवसरमा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा उहाले आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको प्रत्याभूतिका लागि मानव अधिकारमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो । उहाले सरकारले दण्डहिनता अन्त्य गर्ने तथा मानव अधिकार उल्लंघनप्रति शून्य सहनसिलताको नीति लिएको जानकारी दिनुभयो । द्वन्द्वकालीन घटनाका पीडितको न्याय प्राप्तिमा सरकार प्रतिवद्ध रहेको भन्दै उहाले संक्रमणकालीन संयन्त्रमार्फत छिट्टै पीडित र परिवारमा समेत न्यायको अनुभूति हुने गरी सो कार्यलाई निष्कर्षमा पुर्याइने जानकारी दिनुभयो । मानव बेचबिखनबिरुद्धको अभियानमा आयोग र नागरिक समाजले काम प्रसंसायुक्त रहेको बताउनुभयो । उहाले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमण जस्ता घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन गृह संयन्त्रलाई चुस्त दुरूस्त र त्यस्ता घटना घट्न नदिन आवश्यक कानुनको तर्जुमा गर्न सरकारले गृहकार्य गरिरहेको जानकारी दिनुभयो । त्यस्तै आयोगका अध्यक्ष तप बहादुर मगरले मानवअधिकार आयोग र अन्य संवैधानिक निकायबीच सहकार्य गर्दै मानवअधिकारको क्षेत्रमा प्रभावकारी काम गर्ने बताउनुभयो । उहाले विश्वका अन्य देशसंग पनि मानवअधिकार रक्षाका लागि बिभिन्न सम्झौता भएको जानकारी दिनुभयो । उहाले मानवअधिकार रक्षाका लागि आयोगले गरेको सिफारिसलाई राज्यले गम्भीर रुपमा लिनुपर्ने धारणा राख्नुभयो । उहाले मानवअधिकार रक्षकहरुको राष्ट्रिय भेला आयोजना गर्न लागेको जानकारी दिनुभयो ।









































