काठमाडौं, 21 फरवरी 2022
उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा देखिएका समस्याहरु राष्ट्रिय सहमति गराएर समस्या हल गर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२२ का उपलक्षमा नेपाल प्रज्ञा–प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाले देशमा हाल उत्पन्न भइरहेका केही विवादका विषयमा सबैको राष्ट्रिय सहमति गराएर समस्या हल गर्नुपर्नेमा समेत जोड दिनुभयो । उहाले समयमा नै निर्वाचन सम्पन्न गर्दै बिभिन्न समयमा प्राप्त उपलव्धीहरुलाई संस्थागत गर्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै उहाले ऐतिहासिक कार्य लेखन भाषामार्फत नै हुने भएकाले भाषाको विकास नभए देशको विकास नहुने बताउनुभयो। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भाषाको जगेर्ना गर्न अति आवश्यक रहेको बताउनुभयो । उहाले आफुले राम्रो काम गर्दा बिरोध गर्ने क्रम बढेको भन्दै आगामी दिनमा व्यापक रुपमा परिवर्तन ल्याउनुपर्ने उल्लेख गर्नुभयो । बिगतको सरकारको पालामा भएका बिकृतिलाई हटाउन आफु लागीपरेको उहाको भनाई छ । उहाले हालै सार्वजनिक भएको आफ्नो अडियो प्रकरण पूर्ण रुपमा सत्य नभएको धारणा राख्नुभयो । मन्त्री आलेले नेपाली भाषा, कला, संस्कृतिको संरक्षण तथा संवद्र्धनका लागि आफूसहित पर्यटन मन्त्रालय पूर्णरूपमा कटिबद्ध भएको बताउनुभयो ।









































