काठमाडौं, 1 मार्च 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा धेरैभन्दा धेरै फिल्म महोत्सव आयोजना हुनुपर्ने आवश्यकता औंल्याएका छन् । बुधबार नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का प्रतिनिधिहरुलाई बालुवाटारमा भेट्दै उनले फेस्टिभलको माध्यमबाट फिल्म पर्यटनको विकास हुने बताए ।
भेटमा प्रधानमन्त्रीले फिल्म फेस्टिभललाई सघाउन सरकार तयार रहेको बताएको महोत्सव प्रमुख केपी पाठकले जानकारी दिए । ‘उहाँले सिनेमा टुरिजममा फिल्म फेस्टिभलको महत्वबारे चर्चा गर्नुभयो । त्यसका लागि सरकार सघाउन तयार रहेको समेत बताउनुभयो,’ ।
त्यस अवसरमा निफ टोलीले प्रधानमन्त्रीलाई फेस्टिभलको प्रमुख अतिथिको निम्तो समेत दिएको थियो । चैत २ देखि ६ गतेसम्म काठमाडौंमा हुने फेस्टिभलमा ३५ देशका ९६ फिल्म प्रदर्शन हुँदैछन् ।









































