काठमाडौं, 23 दिसम्बर 2021
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा विधिको शासन कायम गर्नुपर्नेमा जोड दिनुभएको छ । महान्यायाधिवक्ताको कार्यालयको ७१औँ स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयाजित कार्यक्रममा प्रधानमन्त्री देउवाले विधिको शासन र कानुनी राज्य लोकतन्त्रको आधारशिला भएको भन्दै विधिको शासन कायम गर्नुपर्नेमा जोड दिनुभएको हो । उहाले बिधिको शासन कायम गर्न सरकारका तर्फबाट महान्यायाधिवक्ता कार्यालयले महत्ववपूर्ण भूमिका खेलेका जिकिर गर्नुभयो । त्यस्तै प्रधानमन्त्री देउवाले मुलुकको समृद्धि, विकास र मानव अधिकारको संरक्षण विधिको शासनमा निर्भर रहने धारणा पनि राख्नुभयो । त्यस्तै महान्यायाधिवक्ता खम्मबहादुर खातीले सर्वोच्च अदालतमा उत्पन्न संकट समाधानका लागि प्रधानमन्त्रीले भूमिका खेल्नुपर्ने बताउनुभयो । प्रतिपक्षी दलसँग वा सर्वदलीय बैठक बसेर भए पनि संकट समाधानका लागि भूमिका खेल्नुपर्ने उहाको भनाई छ । उहाले असहमतिबीच सहमति खोजेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।









































