काठमाडौं, 25 मार्च 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा स्थापित राजनीतिक परिवर्तनलाई संस्थागत गर्नु सबैको दायित्व भएको बताएका छन् । नेपाल रिपब्लिक मिडिया १५ औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पत्रकारिता क्षेत्र र राजनीतिक क्षेत्रको उत्तिकै भूमिका रहेको बताए ।
“हिजो सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जसरी पत्रकारिता र राजनीतिक क्षेत्रबीच सहकार्य भयो, मुलुकको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न आज पनि हामीबीच त्यस्तै सहकार्य आवश्यक छ”, प्रधानमन्त्री दाहालले भने, “पछिल्ला दिनमा परिवर्तनलाई उल्ट्याउन चाहने तत्वहरू सल्बलाउन थालेकाले यसप्रति पनि हाम्रो सतर्कता जरुरी भएको छ ।”
उनले लोकतन्त्र पारदर्शी र जनताप्रति जवाफदेही शासन प्रणाली भएको उल्लेख गर्दै अझ सशक्त, कामकाजी र जनताप्रति प्रतिवद्ध बनाउन सञ्चार क्षेत्रको सँधै रचनात्मक आलोचना आवश्यक रहेको बताए । प्रधानमन्त्रीले सञ्चार माध्यम आम नागरिक र सरकारका समेत आँखा र कान भएको बताउँदै यसले गरिरहेको काममा कुनै कमजोरी भएमा यसले सच्याउन मद्दत गर्ने बताए ।









































