3 दिसम्बर 2021
धनगढीमा १० वर्षीय बालकको हत्या भएको छ। हत्या आरोपमा सौतेनी आमा पक्राउ परेकी छिन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शुक्रबार पत्रकार सम्मेलनमा धनगढी उपमहानगरपालिका–२, मालिका टोलका १० वर्षीय निशान्त थापामगरको हत्या भएको छ भने हत्या आरोपमा ३५ वर्षीया सौतेनी आमा मागी रोकायालाई पक्राउ गरी सार्वजनिक गरेको हो। भारतको हरियाणा रोहतक प्रेम चोकबाट रोकायालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। निशान्त हिमाल एकेडमीमा कक्षा ३ मा अध्ययनरत थिए। उनी मंसिर २ गते कोठामा मृत फेला परेका थिए भने उनका सौतेनी आमा सोही दिनदेखि फरार रहेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, ‘सौतनी आमाले दूधमा मुसा मार्ने बिषादी घोलेर खुवाएर निशान्तको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ।’ अनुसन्धानका क्रममा रोकाया भारतको हरियाणामा रहेको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षकको कमान्डमा मंसिर १४ गते हरियाणा गएको टोलीले उनलाई पक्राउ गरी १६ गते नेपाल ल्याउन सफल भएको हो। मागी रोकाया र बहादुर रोकायाबीच विवाद र झैझगडा भइरहने छिमेकीलाई उधृत गर्दै प्रहरीले जनाएको छ। सोही रिसमा मागी रोकायाले कात्तिक २९ गते निशान्त विद्यालयबाट फर्किएपछि दूधमा मुसा मार्ने औषधी मिसाई खुवाएको प्रहरीको अनुसन्धानमा खुलेको छ।









































