काठमाडौं, 17 अगस्त 2022
मुस्ताङ जिल्ला अस्पतालमा बुधबार पहिलोपटक प्रसूतिको सफल शल्यक्रिया भएको छ। सञ्चालनमा आएको ४८ वर्षपछि बिहान ६ बजेर ३६ मिनेटमा मुस्ताङको थासाङ गाउँपालिका ३ लेते कालोपानीकी २४ वर्षीया अनीता परियारको शल्यक्रियामार्फत सुत्केरी गराइएको हो। उनले २ किलो ८ सय ग्रामको बच्चा (छोरा) जन्माएकी छन्। आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य छ। अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा विशाल तिवारीका अनुसार अस्पतालमा यो नै पहिलो शल्यक्रिया हो। डा कुन्दन कर्ण (एमडीजीपी) को नेतृत्वमा डा तिवारी, राजीव सापकोटा, नर्सद्वय सुनीता श्रीमल र नीता घर्तिमगर र सहयोगी सनीलाल परियारको टीमले शल्यक्रिया गरेको हो। २०३१ सालमा स्थापना भएको अस्पताल २०७५ देखि गण्डकी प्रदेश सरकारमातहत २५ शय्या क्षमतामा सञ्चालित छ।









































