काठमाण्डौं, 2 अगस्त, 2021
संसदीय समितिले बाढीका कारण मेलम्ची खानेपानी आयोजनाबाट विस्थापित भएकाहरुलाई तत्काल सुरक्षित बसोबाससहित राहतको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार सिंहदरवारमा बसेको बैठकले बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा पुगेको क्षति र त्यसबाट विस्थापितहरुलाई तत्काल सुरक्षित बसोबाससहित राहत उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो । सो आयोजनामा आएको बाढीकाकारण विस्थापित भएका नागरिकहरुलाई तत्काल सुरक्षित बसोबाससहितको राहत उपलब्ध गराउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिनु भयो । बैठकमा आयोजनामा बाढीका कारण पुगेका क्षतिबारे खानेपानी मन्त्रालयकी सचिव प्रमिला देवी शाक्य बज्राचार्य र आयोजनाका प्रमुख रामकुमार श्रेष्ठले समितिलाई जानकारी गराउनु भएको थियो । खानेपानी मन्त्रालय र सम्बन्धित आयोजनाका पदाधिकारीहरुबाट सो आयोजनाको जानकारी लिएपछि समितिले आयोजना क्षेत्रलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न पनि सरकारलाई सचेत गराएको छ ।बैठकले आगामी दिनमा सो आयोजनामा क्षति नहुने गरी भौगर्भिक अध्ययन गराउन विज्ञहरुलाई परिचालन गर्न पनि सरकारलाई सचेत गराएको छ । बैठकमा समितिका सदस्यहरुले विस्तृत अध्ययन विनानै सो आयोजनाको काम गरिएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए । समितिका सदस्य गणेशकुमार पहाडीले विस्तृत अध्ययण विनानै सो आयोजनाको काम हचुवाको भरमा गरिएकाले विपद आएको उल्लेख गर्दै सरकारप्रति आक्रोश व्यक्त गर्नु भयो । उहाँले आगामी दिनमा विस्तृत अध्ययन गरेर मात्रै सो आयोजनाको कामलाई अघि बढाउन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।समितिका अर्का सदस्य सञ्जयकुमार गौतमले राष्ट्रिय गौरवको आयोजनामा पुगेको यस क्षतिले मुलुक विकासमा नभई विनाशको बाटोमा अघि बढेको पुष्टि भएको उल्लेख गर्दै विस्तृत अध्ययन गरेर मात्रै विकासको कामलाई अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले आयोजना अघि बढाउने काममा लापरबाही गरिएको भन्दै आईन्दा त्यस्तो अवस्था आउन नदिन सम्बन्धित पक्ष सजग हुनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।बैठकमा खानेपानी मन्त्रालयकी सचिव तथा सो आयोजना विकास समितिकी अध्यक्ष बज्राचार्यले आयोजनाभन्दा माथिल्लो क्षेत्रको भौगोलिक अवस्थाबारे अध्ययन गरिदिन एडीबीलाई पत्राचार गरिएको जानकारी गराउनु भएको थियो । उहाँले आयोजनाको भविष्यनै संकटमा परेकाले त्यहाँ देखिएको समस्या समाधान गर्न सम्बन्धित सबै पक्षको सहयोगको आवश्यक्तामा पनि जोड दिनु भयो ।यस वर्षको निरन्तरको बाढी र पहिरोको कारण मेलम्ची खानेपानी आयोजनामा ठूलो धनजनको क्षति पुगेको छ । त्यहाँको कमजोर भौगर्भिक अवस्थाको विस्तृत अध्ययन विनानै सो आयोजनाको काम अघि बढाएकाले हाल आएर क्षति व्यहोर्नु परेको समितिका सदस्यहरुको भनाई छ । उनीहरुले विस्तृत अध्ययन नगरी मेलम्ची नदीमा याङग्री र लार्के खोलाको पानी नझार्न पनि मेलम्ची खानेपानी आयोजनाको ध्यानाकर्षण गराएका छन ।









































