नयाँदिल्ली,२ मार्च, २०२०
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षीसफल शल्यक्रियाको कामना गरेका छन् ।
मोदीले सोमबार एक ट्विट गर्दै नेपाली समकक्षी ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएपछि बुधबार पुनःअर्को प्रत्यारोपण गरिँदैछ । त्यसका लागि ओली आज अस्पताल भर्ना हुँदैछन् ।
‘मेरा प्रिय साथी केपी शर्मा ओली जी, तपाईंको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ मोदीले ट्विटरमा लेखेका छन् । भगवान पशुपतिनाथले राम्रो स्वास्थ्य, खुशी र दीर्घ जीवन प्रदान गरुन भन्ने कामना पनि मोदीले गरेका छन् ।
नेपाल–भारतबीचको सम्बन्धलाई थप उचाइमा र्पुयाउन ओलीको योगदानको प्रतीक्षामा आफू रहेको पनि मोदीले ट्विटरमा उल्लेख गरेका छन् ।









































