अत्तरिया, 12 नवम्बर 2022
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल यही चुनावबाट समाप्त हुने बताएका छन्। शनिबार कैलालीमा आयोजित चुनावी सभामा उनले पार्टी र देशका विरुद्ध अपराध गरेको भन्दै माधव नेपालको पार्टी यही चुनावबाट सकिने बताएका हुन् ।
उनले भने, ‘एमाले सिध्याउँछु भन्नेहरु आफैं सिद्धिँदै गएका छन्। माधव नेपाल, प्रचण्ड लगायतका मान्छेहरु क्रमश सिद्धिँदै गएका छन्। माधव नेपाल त यही चुनावबाटै समाप्तै हुन्छन्। माधव नेपालको पार्टी खरानीको डल्लो हो।’
अध्यक्ष ओलीले नेपालको पार्टी खरानीको डल्लो भएको र त्यसलाई पानीमा भिजाएर सुकाएपछि फ्याँसफुस हुने टिप्पणी गरे। उनले माधव नेपालले कम्युनिस्ट पार्टी एकता, ‘सुखी नेपाली, समृद्ध नेपाल’ लगायतका विषयमा गरेको अपराधको सजाय यहि निर्वाचनबाट पाउने ठोकुवा गरे। उनले मंसिर ४ गतेको निर्वाचनपछि एमालेको सरकार बन्ने दाबी समेत गरे।









































