दिल्ली, 14 अक्टूबर 2022
युक्रेनका चार भूभाग रुसमा विलय गराउन गरिएको भनिएको जनमत सङ्ग्रहको विपक्षमा नेपालले संयुक्त राष्ट्र संघको ११औँ आपत्कालीन विशेष साधारण सभामा गरेको मतदानको जवाफदेहिता निगरानी समितिले स्वागत गरेको छ । राष्ट्रसंघको बडापत्र बमोजिम कुनैपनि राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता तथा आक्रामकताविरुद्धको सिद्धान्तलाई अक्षुण्ण राख्ने प्रस्तावका पक्षमा मत जाहेर गर्नु प्रत्येक शान्तिप्रिय सदस्य राष्ट्रको कर्तव्य भएको समितिको भनाइ छ । समितिले जारी विज्ञप्तिमा भनिएको अनुसार, ‘युक्रेन तथा त्यहाँका नागरिकका पक्षमा नेपाल लगायत १४३ राष्ट्रले आफ्नो मत जाहेर गरेर शक्ति राष्ट्रको कुत्सित राजनीतिलाई दुरुत्साहित गरेको छ । युक्रेनी जनताको सार्वभौमसत्ता तथा मानव अधिकारका पक्षमा विश्व समुदाय उभिएको छ । यस सिद्धान्तलाई आत्मसाथ गरेर नेपालले दिएको साथ र मतदानले नेपाली जनताको मनोभावलाई सम्मान गरेको निगरानी समितिको ठहर छ ।’









































