युट्युबमा पनि लगाएनन् दर्शकले ‘छड्के २’लाई
काठमाडौं,9 नोभेम्बर 2023
नायक अनमोल केसी नेपाली सिनेमा क्षेत्रका सर्वाधिक महंगा नायक हुन्। उसो त उनी निर्माताको पहिलो रोजाइमा पर्ने नायकमा पनि पर्छन्। डिमान्डेड नायकको छवि बनाएका अनमोल अभिनित पछिल्लो सिनेमा ‘छड्के २’ भने सुपर डुपर फ्लप भयो। जसले गर्दा अनमोललाई नराम्रोसँग धक्का लाग्यो।
हलमा यो सिनेमा गत फागुन १९ गते प्रदर्शन भएको थियो। हलमा आक्रमक व्यापार गर्छ भनिएको सिनेमाले पानी पनि भन्न पाएन। मेगास्टार जस्ता अनमोलको सिनेमा हप्ता दिन पनि नहुँदै हलबाट बाहिरिनु भनेको विडम्बना नै थियो।
हलमा त दर्शकको साथ पाएन तर युट्युवमा त सिनेमाले दर्शकको माया पाउला नि भन्ने आश निर्माताको थियो। तर निर्माताको यो आश पनि यतिबेला निराशामा परिणत भएको छ। किनकि युट्युबमा रिलिज भएको २ हप्तासम्म पनि ‘छड्के २’ले जम्मा २३ लाख मात्रै भ्युज पाएको छ।
एउटा सामान्य म्युजिक भिडियोले युट्युबमा पाउने भ्युजको अवस्था मेगास्टारको सिनेमाको हुनु भनेको निकै लज्जास्पद कुरा हो। अहिलेसम्म त यो सिनेमाले युट्युबमा करोडौं भ्युज पाइसक्नुपर्ने थियो। तर त्यसो भएन।
हलमा यो सिनेमालाई नजर नलगाएका दर्शकहरुले युट्युबमा पनि छड्के नजर लगाएका छैनन् भन्दा फरक नपर्ला। खैर, जे होस् अब स्टार मात्र राखेर हुँदैन, सिनेमा चल्नको लागि कन्टेन्ट पनि बलियो हुनुपर्छ भन्ने चेत चाहिँ निर्मातालाई पक्कै भयो होला।









































