काठमाडौं, 1 नवम्बर 2022
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीले ल्याएको घोषणापत्र देश विकासको मार्गचित्र भएको बताएका छन् । काठमाडौंस्थित होटल याक एन्ड यतीमा मंगलबार घोषणापत्र सार्वजनिक गरेपछिको संवादमा उनले जनतालाई छक्याउनका लागि पार्टीले घोषणापत्र अगाडि नल्याएको बताएका हुन् । निर्वाचन अगाडि सबैले घोषणापत्र जारी गर्ने भए पनि एमालेको भने पृथक रहेको ओलीको भनाइ थियो । एमालेले ९६ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेको छ । ‘एमालेले जारी गरेको घोषणापत्र यो जनतालाई अल्मल्याउन, छक्याउनका लागि होइन, यो देश विकासको मार्गचित्र हो,’ उनले भने, ‘यो देश विकासको निम्ति एउटा संकल्प हो । देश विकासका निम्ति एउटा प्रतिबद्धता हो ।’
एमाले देश विकास गर्ने पार्टी भएको घोषणापत्रले पनि सोही कुरा देखाएको ओलीको भनाइ छ ।
उनले भने, ‘एमाले विकासप्रेमी मात्रै होइन‚ विकासका लागि प्रतिबद्ध र क्रियाशील तथा नेतृत्व गर्न सक्ने पार्टी हो ।’









































