नयाँ दिल्ली, 25 फरवरी 2020/ सुबास बस्नेत
फरवरी 20 तारीखदेखि दिल्लीको साकेतबाट बेपत्ता पारिएकी २२ वर्षीया युवती पूनम क्षेत्री आज बिहान करिब 4 बजे नोएडाबाट फेला परेकी छन्। दिल्ली पुलिसको व्यापक खोजतलास अभियानपश्चात् उनि फेला परेकी हुन्। खोजि कार्यमा हातेमालो गर्ने दिल्ली पुलिस, दिल्ली एन.सी.आर.-स्थित नेपाली मिडियाहरू, नेपाली संघ-संस्थाका प्रतिनिधिहरूलगायतको अथक प्रयासको परिणामस्वरुप चेलीबेटी बेचबिखनमा सक्रिय गिरोहबाट उनको उद्धार गरिएको हो। अहिले उनको मेडिकल जाँच, कानूनी कारबाहीलगायतका क्रक्रियाहरू जारी छ।
यतिखेर राजधानी दिल्लीलगायत सिंगो भारतमा नै यस किसिमको गिरोह सक्रिय छ। नेपाली महिलाहरू विभिन्न प्रलोभनमा परेर बेचिनु नयाँ कुरा भने होइन। आजको दिनमा विशेसगरी नेपाली मूलका बालबालिकाहरू र युवायुवतीहरूलाई यस्ता गिरोहहरूबाट बचाउन तपाईँ हामी सबैको प्रयास र योगदानको अवश्यकता छ।
स्मरण रहोस गुल्मी जिल्ला, इस्मा गाउँपालिका 3, दर्लाम्चौर (टाकुरा) स्थायी घर भई हाल भारतको राजधानी दिल्लीमा बसोबास गर्दै आएका राम बहादुर घर्ति क्षेत्री र स्वर्गीय श्रीमती चन्द्रकला घर्ति क्षेत्रीकी २२ वर्षीय छोरी पूनम क्षेत्री (कल्पना) यहि 20 फरवरी 2020- का दिन दिल्लीको साकेतस्थित सेदुलाजाबदेखि बेपत्ता पारिएकी थिइन्।









































