काठमाडौं, 29 नवम्बर 2022
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो राजनीतिक परिस्थितिलाई नजिकबाट नियालिरहेको बताएका छन् । पूर्ण नतिजा आएपछि एउटा निर्णयमा पुग्ने उनको भनाइ छ ।
नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको बेला लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । ‘केन्द्रीय राजनीतिको हालको परिस्थितिलाई हामी नजिकबाट नियालिरहेका छौं, उनले लेखेका छन् । निर्वाचनको पूर्ण नतिजा आएपछि निर्णयमा पुग्छौं ।’
यसै सन्दर्भमा उनले सामाजिक सञ्जालमा थप लेखेका छन्, ‘हामीलाई जनताले के गर्न भनेर भोट दिएका हुन् भन्ने हेक्का हामीलाई छ, धैर्य गरौं ।’
पार्टी स्थापनाको केही महिनामै प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाला कि नजाला भन्ने चासो छ ।









































