दिल्ली, 1 अगस्त 2022
राप्रपा प्रवास संगठन भारतले केन्द्रीय समितिका सदस्य र राज्य समितिका अध्यक्षहरु सम्मिलित ऑनलाईन कार्यक्रम सम्पन्न गरेको छ। सो कार्यक्रममा राष्ट्रीय प्रजातन्त्र पार्टीका महामन्त्री भुवन पाठक, राप्रपा प्रवास विभाग इन्चार्ज आनन्द राज अधिकारी, राप्रपा प्रवास विभाग सदस्य सिद्धार्थ कन्दङ्गवा सुब्बा, विक्रम बानिया, नारायण गुरुङ, गोपाल कार्की,लगायतको टिम सहभागी भएको थियो। परिचयात्मक तथा अन्तर्क्रिया कार्यक्रमको अध्यक्षता संगठनका भारत प्रमुख लोकेन्द्र शाहले गरेका थिए भने संचालन सन्तोष गिरी र नेत्र शाहीले गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री पाठकले राष्ट्र र राष्ट्रीयता गम्भीर अवस्थामा रहेको बेला सबैले एकजुट भएर संघर्ष गर्नुपर्ने बताउनु भयो। उहांले उपस्थित सम्पूर्ण सदस्यहरुलाई पार्टीको नीति र कार्यशैली बारे स्पष्ट पार्नुका साथै राप्रपाले उठाएका राष्ट्रवादी एजेन्डाहरुमा सबैको साथ र समर्थन चाहिने बताउनु भयो। यस्तै प्रवास विभाग इन्चार्ज आनन्द अधिकारीले भारतको टिम संग यसरी जोडिने पाएकोमा खुशी व्यक्त गर्दै संगठन लाई आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। अन्य प्रवास विभागका सदस्य वक्ताहरुले संगठनको लागि आफुबाट भइ परि आउने हर समस्यामा साथ दिने वचन बद्धता व्यक्त गर्नु भयो। करीब तीन घन्टा चलेको कार्यक्रममा भारत प्रवासबाट जोडिएका सदस्यहरुले राखेको जिज्ञासाको केन्द्रीय टिमले पूर्णरूपमा समाधान गर्दै सबैलाई एकजुट भइ अघि बढ्न आह्वान गरेको थियो। सो कार्यक्रममा राप्रपा भारत प्रवास संगठनका नौ राज्यका अध्यक्ष सहित केन्द्रीय सदस्यहरु सहभागी थिए।









































