राप्रपाले केन्द्रीय कार्यालय २१ दिनभित्र खाली गर्ने
काठमाडौं, 1 अगस्ट 2023
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २१ दिनभित्र केन्द्रीय कार्यालय रहेको घर खाली गर्ने भएको छ । आज काठमाडौं महानगरका प्रमुख बालेन शाहलाई पत्र लेखेर राप्रपाले २१ दिनभित्र घर खाली गर्ने जानकारी गराएको हो ।
“महानगरपालिकाको सूचनाबमोजिम घर खाली गर्ने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले २१ दिनभित्र घर खाली गरी महानगरपालिकालाई जानकारी गराउने बेहोरा निर्देशानुसार अनुरोध गर्दछु,” राप्रपाका मुख्य सचिव केदारबहादुर अधिकारीले लेखेको पत्रमा भनिकएको छ ।
सोमबार काठमाडौं महानगरपालिकाले राप्रपाको भवन बिजुलीको हाइटेन्सन लाइनमुनि रहेको र भवनको नक्सा पास पनि नरहेको उल्लेख गर्दै हटाउन भनेको थियो । महानगरले राप्रपालाई गत शुक्रबार नै समय दिएको थियो । तर, राप्रपाले कार्यालय नसारेपछि महानगरले भत्काउने तयारी गरेको थियो ।
महानगरले कार्यालय भत्काउने खबरपछि राप्रपाका नेता, कार्यकर्ताहरू कार्यालय पुगेर सडकमा गाडी राखेर अवरोध गरेका थिए ।
यो समाचार पनि पढनुहोस्…
- सुन तस्करी प्रकरणको अनुसन्धान जरैसम्म पुगेर गरिन्छ
- अहिले रास्वपामा जोडिनु भनेको उम्मेदवार बनिहाल्नु होइन