काठमाडौं, 22 सितंबर 2022
एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनले राष्ट्रपतिको अपमान गरेको आरोप लगाएका छन्। बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकता विधेयक विषयमा राष्ट्रपतिले पुनर्विचार गर्ने कि भनेर दिएको सन्देशमा पाखुरा बजारेर गठबन्धनले राष्ट्रपतिको अपमान गरेको आरोप लगाए । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको कदमको बचाउ गर्दै ओलीले यस्तो बताएका हुन्।‘यो अहंकारी गठबन्धनले राष्ट्रपतिलाई विधेयकबारे कुनै जानकारी गराउँदैन। संविधानले अनिवार्यरुपमा जानकारी गराउनुपर्छ भन्छ तर यो गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठान्छ,’ उनले भने। सत्तारुढ गठबन्धनमा अहंकार बढेको ओलीको भनाइ छ । उनले सरकारमा अहंकार बढ्यो भने तानाशाही हुने बताए । ‘सत्तामा भएकामा अहंकार चढ्यो र कर्तव्य बिर्स्यो भने तानाशाही, अधिनायकवाद त्यसैलाई भनिन्छ । त्यसले लोकतन्त्रको उलंघन हुन्छ । संविधानको उल्लंघन भइराख्या छ । कानुनको त पाइलैपिच्छे उल्लंघन भइराख्या छ,’ उनले भने । लोकतान्त्रिक मूल्य, मान्यता, सामाजिक मर्यादा जोडजाडको बहुमतबाट नगर्न भन्दै उनले सरकारलाई सचेत गराएका थिए । आफूले भनेको नमाने मंसिर ४ मा जनताले जवाफ दिने ओलीको भनाइ थियो ।









































