नयाँदिल्ली, ५ फरवरी, २०२०
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषण सभामुख न्यान्सी पेलोसीले च्यातिदिएकी छन् । बुधबारको संसदमा ट्रम्प र सभामुख न्यान्सी पेलोसीबीचको तनाव सतहमै देखियो ।
संसदको दुवै सदनमा सम्बोधन गर्न संसदभवन पुगेका ट्रम्पको भाषणको लिखित कपी न्यान्सीले उनको अगाडि च्यातिदिएकी हुन्। आफूले अभिवादनका रुपमा हात मिलाउन हात नदिएका ट्रम्पको विरोधस्वरुप न्यान्सीले उनको अगाडी भाषण च्यातिदिएकी हुन् । यो सँगै सभामुख र राष्ट्रपतिको विवाद सतहमा आएको छ ।
अमेरिकी दुवै सदनलाई सम्बोधनका क्रममा ट्रम्पले भने, ‘मैले पदभार ग्रहण गरेपछि अमेरिकाको अर्थतन्त्रलाई सहि बाटोमा ल्याउन कोसिस गरें। हाम्रो साहसिक अभियानका कारण तेल र प्राकृतिक ग्यासको उत्पादनमा विश्वमा पहिलो स्थानमा आएको छ।’
कोरोना भाइरस समस्याका बारे ट्रम्पले भने, ‘चिनियाँ सरकारसँग समाधान खोज्नका लागि काम गर्दैछौं। मेरो प्रशासनले कोरोना भाइरसबाट नागरिकहरूलाई जोगाउन सबै सम्भव कदमहरू चालेको छ।’









































