काठमाडौं, 6 मार्च 2023
राष्ट्रपति निर्वाचनको मौन अवधि सोमबार राति १२ बजेदेखि सुरु हुँदै छ । निर्वाचन आयोगले मौन अवधि सुरु भएसँगै राष्ट्रपति निर्वाचनका लागि प्रचारप्रसारमा रोक लगाउने जनाएको छ । आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ। निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिएको छ। निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचार-प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन । यसैगरी, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचार-प्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको छ। आयोगले मुलुकको सर्वोच्च र गरिमामय पद राष्ट्रपतिको निर्वाचनमा निर्वाचन कानुन र आचारसंहिताको पालना गराई निर्वाचनको स्वच्छता र मर्यादा कायम गर्न आयोगले सम्बन्धित सबैलाई आग्रह गरेको छ । निर्वाचनमा अधिकतम ४ लाख मात्रै खर्च गर्ने सीमासमेत सार्वजनिक भैसकेको छ।









































