दिल्ली, 22 जुलाई 2022
राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको नवनिर्वाचित १५औँ राष्ट्रपति द्रौपदी मुर्मूलाई बधाई दिएकी छन् । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत उनलाई बधाई तथा शुभकामना दिएकी हुन् । विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै एनडीएकी मुर्मू राष्ट्रपति निर्वाचित भएकी हुन् । भारतको राष्ट्रपति चुन्ने इलेक्ट्रोरल कलेजमा १० लाख ८६ हजार ४३१ मत मूल्य हुन्छ । कुनै पनि उम्मेदवारलाई जितका लागि ५ लाख ४३ हजार १२६ मत मूल्य चाहिन्छ । तेस्रो राउण्डमा मुर्मूले ५ लाख ७७ हजार मत मुल्य कटाएकी थिइन् । उनका प्रतिस्पर्धी सिन्हाले हार स्वीकार गरेका छन् र मुर्मूलाई जितका लागि बधाइ दिएका छन् । झारखण्डकी पूर्व राज्यपाल समेत रहेकी मुर्मू पहिलो आदिवासी र दोस्रो महिला राष्ट्रपति बनेकी छन् । उनले २५ जुलाईमा राष्ट्रपतिको सपथ लिनेछिन् । मुर्मूको कार्यकालमा नेपाल–भारतबीचको सहकार्यले नयाँ उचाई प्राप्त गर्ने विचार राष्ट्रपति भण्डारीले व्यक्त गरेकी छन् । सामाजिक सञ्जाल ट्वीटरमा मार्फत ‘मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम द्रौपदी मुर्मूज्यूलाई म हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु । यहाँको कार्यकालमा हाम्रा दुई देश बिचको सहकार्यले नयाँ उचाई प्राप्त गर्नेमा म पूर्ण विश्वास व्यक्त गर्दछु,’ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भारतको नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू र नेपाल सरकारको तर्फबाट मुर्मूलाई भारतको १५ औँ राष्ट्रपति निर्वाचित भएकोमा बधाई दिएका छन् । उनले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध आगामी दिनमा झन् नयाँ उचाईमा पुग्ने पनि विश्वास व्यक्त गरेका छन् ।










































